यस कारण एमाले ले चमत्कार नै गरेको हो , विश्लेषक को नजरमा एमाले

http://kantipurplus.com/wp-content/uploads/2017/09/
त्यस्तो बेलामा एमालेले दुई नम्बर प्रदेशमा जुन परिमाणमा जनसमर्थन पाएको छ, त्यसले सबैको मुखमा बुझो लगाइदिएको छ । वास्तवमा एमालेका विपक्षीहरू अक्क न बक्क बनेका छन् । सहज रूपमा तराईमा काम गर्न पाएको भए चमत्कार नै गर्ने रहेछ । हेर्नुहोस पूरा खबर

सन् १९७० को सुरुआती वर्ष जतिखेर भियतनाम-अमेरिका युद्ध चरमोत्कर्षमा थियो । सनसनीदार खबर आयो, अमेरिकाले होचिमिन्हनियन्त्रित उत्तरी भियतनाममा रहेको एउटा ठूलो सुरुङमा कब्जा जमाएर हातहतियारलगायत लडाकुहरूलाई ध्वस्त पार्न सफल भयो ।अहिलेका लेखक र उतिबेलाका विद्यार्थी नेता वसन्त थापालाई विद्यार्थी कार्यकर्ता सुनिल मानन्धर (केही समयपहिलेका वातावरणमन्त्री) ले सोधेछन्- वसन्त दाइ, के भियतनामीहरू हार्छन् ? अमेरिकाले भियतनामलाई जित्यो अब ?

तत्काल वसन्त थापाले जवाफ दिएछन्- होइन भाइ सुनिल, तिमी ढुक्क परेर बस । भियतनामले कहिल्यै युद्ध हार्दैन । अमेरिकाले बहुप्रचार गरेको त्यो सुरुङ त क्रान्तिकारी भियतनामी जनताले बनाएका हजारौं सुरुङमध्ये एउटा मात्र हो । एउटा जाबो सुरुङलाई ध्वस्त पार्दैमा भियतनामले अमेरिकी उपनिवेशवादीहरूसमक्ष कदापि घुँडा टेक्दैन । वरिपरि भएका विद्यार्थीले थापालाई छक्क परेर हेरिरहे, अनि ढुक्क बने । त्यसपछि अमेरिका भियतनाम युद्धमा पराजित भयो ।

यो प्रसंग चार दशकपछि भियतनाम-अमेरिका सम्बन्ध सुमधुर भएको बेला किन उठाउन खोजिएको हो भने हाम्रो देशका सातमध्ये ६ प्रदेशमा भएका दुई चरणको स्थानीय चुनावमा अग्रता हासिल गरेर सबैलाई पछाडि पारिरहेको एमाले असोज २ गते भएको निर्वाचनमा भने पाँचौं बनेर पुछारमा पुग्यो भनिँदैछ । एमाले अगाडि कांग्रेस, माओवादी, राजपा, समाजवादी फोरमको प्रचार भइरहेछ । के एमालेको विजयी अभियानमा साँच्चिकै पूर्णविराम लागेको हो ?

होइन भने के यो भियतनाम युद्धमा अमेरिकाले एउटा सुरुङमा क्षति पुर्‍याएजति मात्र कांग्रेस, माओवादी, राजपा र समाजवादी फोरमहरूले एमालेलाई धकेलेका हुन् ? उतिबेला रन्थनिएका सुनिललाई तत्काल दृढतापूर्वक जवाफ दिएर आशावादी बनाउने वसन्त थापा यतिबेला एमाले पराजयको जवाफ दिँदा भने गम खाएर बसेका छन् । यसको कारण के हो ?

एक वामपन्थी राजनीतिक विश्लेषकले भने, विषयलाई यसरी टुक्र्याएर हेर्नु हुँदैन । जब स्थानीय चुनाव सकियो भने समग्रमा को अगाडि, को पछाडि छुट्ट्याउनुपर्छ । देशभर एमाले अगाडि छ । स्थानीय निकायमा एमाले अग्रता स्थापित भएको प्रमाण हो यो ।

तर उनलाई प्रतिप्रश्न गरियो- तपाईंको विश्लेषण सही हो भने एमालेको भर्खर सकिएको केन्द्रीय समितिको बैठकमा दुई नम्बर प्रदेशको निर्वाचनमा किन गाँड कोराकोर ? हावै नचली पात हल्लिएको त होइन होला ?

उनले गम्भीर हुँदै भने, ‘नेपाल कम्युनिस्ट पार्टी, एकीकृत माक्र्सवादी र लेनिनवादी’ को नाम सुन्दा यो उग्र क्रान्तिकारी कम्युनिस्ट पार्टी हो भन्ने लाग्छ । तर यो गलत हो । नेकपा एमाले अत्यन्त उदारवादी लोकतान्त्रिक पार्टी हो । जहाँसम्म केन्द्रीय बैठकमा अनेक विषयमा कुरा भएको जुन समाचार आयो, त्यसले के प्रमाणित गरेको छ भने यो खुला पार्टी हो । यसमा पार्टीका सर्वशक्तिमान अध्यक्ष ओलीको समेत आलोचना भयो र सँगसँगै उनको नेतृत्वलाई पनि जबर्जस्त रूपमा स्थापित गर्‍यो ।

खासमा एमालेको त्यो बैठक गएको स्थानीय निर्वाचनको समीक्षा र सँघारमै आइसकेका प्रादेशिक र संसदीय आमचुनावको रणनीति बनाउने मिटिङ थियो । सबैलाई थाहै छ- दुई महिनापछि नयाँ संसद् मात्र बन्ने होइन, देशकै इतिहासमा प्रादेशिक संसद् र सरकार बन्दैछ । नाम नेपाल कम्युनिस्ट पार्टी, एकीकृत माक्र्सवादी र लेनिनवादी छ, तर कार्यशैली कति लोकतान्त्रिक रहेछ देखिहाल्नुभयो । निर्णयहरू पढिहाल्नुभयो ।

ती विश्लेषकको विश्लेषणबारे राजनीतिशास्त्रका एक प्राध्यापकलाई पनि तेस्र्याइयो । उनले भने, नेपालको विशेषता भन्नुस् वा जटिलता के हो भने नेपालको वस्तुस्थितिलाई विश्लेषण गरेर होइन, यहाँ कि किताबका ठेली कि त विदेशी उदाहरणको नक्कलबाजी गर्ने चलनले जनताको धड्कन प्रायले भेउ पाउनै सक्दैनन् । तर नेकपा एमाले र खास गरेर यसका नेता केपी ओली नेपाली विशेषता पहिल्याउन माहिर सावित भएका छन् ।

उनले उदाहरण दिँदै भने- साह्रा राजनीतिक शक्ति एकातिर र केपी ओली अर्कोतिर भएर चुनाव लड्दा पनि ओलीले एमालेको पक्षमा जनमत छ भन्ने प्रमाणित गरिदिए । यो चानचुने भिजनरी र संगठन परिचालनको उदाहरण होइन ।

तपाईंलाई थाहा छ- देशको सबैभन्दा ठूलो र सत्तासीन नेपाली कांग्रेस, जसका सभापति प्रधानमन्त्री छन् । जनयुद्धका नायक भनिने प्रचण्डले एमालेविरुद्ध निर्वाचनभर तराईमै बसेर साम, दाम, दण्ड, भेद नीति अख्तियार गरे । मधेसी दलहरू निर्वाचनको एक महिनासम्म पनि एमालेका नेताकार्यकर्तालाई तराईमा छिर्न दिन्नम् भनेर अलापिरहे । भारतीय संस्थानपक्ष खुलमखुला ओलीलाई हराउन सबै दल मिल्नुपर्छ भनेर नांगै प्रस्तुत भयो ।

त्यस्तो बेलामा एमालेले दुई नम्बर प्रदेशमा जुन परिमाणमा जनसमर्थन पाएको छ, त्यसले सबैको मुखमा बुझो लगाइदिएको छ । वास्तवमा एमालेका विपक्षीहरू अक्क न बक्क बनेका छन् । सहज रूपमा तराईमा काम गर्न पाएको भए चमत्कार नै गर्ने रहेछ ।

त्यसैले मैले पाएको सूचना र गरेको विश्लेषण सुन्नु हुन्छ भने एमालेको बैठकभन्दा गम्भीर बैठक एमालेका विपक्षीहरूबीच भइरहेको छ । उनीहरू आउँदो चुनावमा कसरी एमालेको सामना गर्ने भन्नेमा गम्भीर बनेका छन् । तर गम्भीर बनेर मात्र आफूले इच्छाएको परिणाम निस्कन सक्दैन । यसको लागि धेरै अवयव परिचालन हुनुपर्छ ।

उनले सोधे- यति सबै हुँदा पनि तपाईंले मार्क गर्नुभएको छ ? म त छक्क परेको छु । एमालेबाहेक अरू सबै पार्टी मेरो समर्थनमा रहेको पार्टी यो, यो जात, यो वर्ग भनेर बटवारा गरिरहेछन् । यादव, दलित, ब्राह्मण, थारू आदि भनेर पार्टीलाई मात्र होइन, पैसावाल, सामन्त, उद्योगपति, सीमान्तकृत दलित, महिला भनेर आफूलाई केन्द्रित गरिरहेका छन् तर एमाले ? नेपाली कांग्रेसलाई समेत एमालेले शत्रुको श्रेणीमा राखेको छैन, किन ?

यहाँका धेरैलाई के थाहा छैन भने यहाँ जम्मा दुईवटा मात्र निर्वाचन क्षेत्र छ, पहिलो कांग्रेसी र दोस्रो कम्युनिस्ट ! कांग्रेस बलियो भए कम्युनिस्ट कमजोर र कम्युनिस्ट बलिया भए कांग्रेस कमजोर ! मधेसीहरूले क्षेत्रीय शक्ति हौं भनेर यति लामो समय आन्दोलन गरे, तर उनीहरूकै निर्वाचन क्षेत्रमा उनीहरूकै समर्थक मधेसी जनता रहेनछन् । वास्तविक धरतीपुत्र मधेसीहरूले एमालेलाई छानेका छन्, सम्पूर्ण पदसंख्या जोड्दा कांग्रेसपछि एमाले रहेको निर्वाचन आयोगले जनाएको छ ।

खसेको मतले यही प्रमाणित गरेको छ । मधेसवादी भन्नेहरूले भन्दा राष्ट्रिय दलहरूले कता हो कता जनताको बढी समर्थन पाए । त्यसैले उनीहरूले पाएको मत मधेसी दलभन्दा धेरै नै बढी रहेको छ । यसले जड भएको दिमाग खुल्नुपर्छ !

केपी ओली, एउटा यस्तो राजनेता बनेर उदाएका छन्, माधव नेपालजति एमालेको प्रमुख बन्न पाएको भए अथवा एकपटक बहुमतको सरकार बनाउन पायो भने तहल्का मच्चाएर देखाइदिन सक्छन् । तर यस्तो मान्छे एमालेमा उखान-टुक्के पगरी गुताइएर धेरै वर्ष पछाडि पारिए ।

छोटो समयमा पनि ओलीले आफूलाई राजनेताको रूपमा स्थापित मात्र गरेका छैनन्, उनले राष्ट्रवादी नेताको रूपमा शिखर चुमिरहेछन् । त्यसैले एमालेको स्थानीय निर्वाचनमा भएको जित र पाएको व्यापक जनसमर्थन एमालेको भन्दा पनि ओलीको राष्ट्रियताको मुद्दाले पाएको जनसमर्थन हो, उनले थपे।

त्यसैले ओलीले स्थानीय निर्वाचनमा पाएको यो समर्थनको व्यापक असर प्रान्तीय र संसदीय निर्वाचनमा पर्नेवाला छ । मधेसी दलहरू त क्षेत्रीय पार्टी भएकाले स्थानीय रूपमा सीमित हुन्छन् नै, तर कांग्रेस-माओवादी गठबन्धनको भविष्य क्षेत्रीय दलको रूपमा गएर टुंगिने अड्कल गर्न बुद्धिजीवीहरूले थालिसकेका छन् ।

यो सम्भव भयो भने राजनीतिक चित्रमा व्यापक परिवर्तन आउने निश्चित पनि छ । स्वयं कांग्रेसीहरू सत्तानिम्ति नीति सिद्धान्त र कार्यक्रम लत्याएर गरिएको अप्राकृतिक एकताबाट आजित छन् । त्यसैले कतिपय एमाले उम्मेदवारको हारमा उनीहरू दुःखी बनेको पनि देखियो ।

आफ्ना जनता होइन, दक्षिणी छिमेकी समात्यो भने सत्तारोहण स्थायी हुन्छ भन्ने भ्रमले उनीहरू मतदाताबाट टाढा पुगिरहेका छन् । जसलाई उनीहरूले भेउ पाउनै सकेका छैनन् । धाँधली, मत किनबेच, सत्ता दुरुपयोग, तस्कर, ठेकेदार, बिचौलिया, दलाल, भ्रष्टाचारीको आधारमा कोही दिगो रूपमा अगाडि बढ्न सक्दैन भन्ने जगजाहेर छ ।

जुनसुकै संगठन निर्माणमा चाहिने प्रमुख कुरा सिद्धान्त, मुद्दा र सञ्चारको तालमेल हो । सही, गतिशील र भविष्यमुखी कार्यकर्ताको पहिचान र परिचालनले मात्र कसैलाई स्थापित र विस्थापित गराउँछ ।

निर्वाचन, संसदीय राजनीति, राष्ट्रियता, रणनीति फरक कुरा हुन् । तर जब यी सबैबीच तालमेल भएर लयका साथ जो अगाडि बढ्छ, उसलाई ठगेर राजनीति गर्नेहरूले भेट्टाउनै सक्दैनन् । न त उसको अग्रगमनलाई कसैले रोक्न नै सक्छ ।

स्थानीय निर्वाचन पुनरावलोकनमा एमालेले प्रतिपक्षीलगायत आफ्नै नेता-कार्यकर्ताका केस्राकेस्रा केलाएर जसरी अगाडि आएको देखिँदैछ, त्यसले अरूका आङको जुम्रा मात्र होइन, आफ्नो आंगको भैंसीलाई पनि चिनाउनेछ । स्थानीय चुनावमा देखिएका कमीकमजोरी पहिचान गर्दै नयाँ सम्भावनातर्फ अभिमुख हुन सक्यो भने एमालेको प्रादेशिक र संसदीय निर्वाचनको पहुँच अझ सुमधुर हुने मात्र होइन, जनतामा निहित सार्वभौमसत्तालाई सांसदहरूले जसरी अपहरण गरिरहेका छन्, त्यसलाई पुनः जनतामा फर्काउन सक्नेछ ।

तर के यसको लागि ओलीले गएका चुनावमा भएका झेललाई नियन्त्रण गरेर अझ उपयुक्त उम्मेदवार चयनमा महत्व देलान् ? किनभने उनलाई घेरा हालेर बसेका दम्भी, स्वार्थी, लोभीपापी, कुटिलहरूको टुकडीले यो चाहँदैन । बुद्धिजीवी र ल्याकत भएका रणनीतिबाजहरूलाई उनीहरू ओलीसम्म पुग्नै दिँदैनन् ।

आफैंविरुद्ध गठबन्धन गराएर पराजित गराउन लाग्ने देशीविदेशीहरूलाई असफल पार्न देशभित्र गोलमेच सम्मेलन गरेर अघि बढ्य यसअघि ओली असफल भएकै हुन् । स्थानीय तहमा बिचौलिया, ठेकेदार र माफियाले जुन टिकट हत्याए, यसमा सम्मिलित नेताहरूलाई कारबाही सुरु गर्लान् ? अनेक खालका माफिया, डन, बिचौलिया तस्कर ठेकेदार र नोटवालविरुद्धको मौनता त्यागेर राजनेताको रूपमा चुनावी अभियान छेड्लान् ? वामपन्थी भनेर खामपन्थीलाई एमालेमा गरिने मलजलविरुद्ध बोल्लान् ?

आगामी चुनावमा प्रधानमन्त्री घोषणा मात्र होइन, सातै प्रदेशका मुख्यमन्त्रीमा जनताले पत्याएका स्वच्छ, युवा, राष्ट्रिय व्यक्तित्व तोकेर अगाडि बढ्ने आँट गर्लान् ? तराईमा गरिएजस्तो घेराबन्दीलाई असफल पार्ने कार्यक्रम बनाउलान् ? पार्टीका नेता-कार्यकर्ता र विगतको चुनावमा होमिएर सफल बनेकाहरूलाई आगामी दुइ महिना कफन बाँधेर होमिन प्रशिक्षित गर्लान् ?

आफ्नो बिचार राख्नुहोला तथा यो खबर सक्दो शेयर गर्नुहोला

अन्नपूर्णपोस्ट बाट साभार गरिएको

Post a Comment

0 Comments