मृत ह्वेलको पेटबाट ६ केजी प्लास्टिक निकालियो

 
इन्डोनेसियामा एक ‘स्पर्म ह्वेल’ मृत फेला परेको छ। ह्वेल प्रजातीमा सबैभन्दा ठूलो दाँत हुने उक्त ह्वेलले समुद्रमा फालिएको प्लास्टिक खाँदा ज्यान गुमाउनु परेको अधिकारीहरुले बताएका छन्।

समुद्रले ३१ फिट लामो मृत ह्वेल बगाएर इन्डोनेसियाको एक राष्ट्रिय निकुन्ज छेउ पर्याएको थियो। निकुन्जले ह्वेलको पेटबाट ६ केजी प्लास्टिक फेला परेको जनाएको छ।
त्यस ह्वेलको पेटबाट १ सय १५ प्लास्टिक गिलास, चार बोतल, २५ झोला र एक जोर चप्पल निकालिएको जनाइएको छ।
यस घटनासँगै विश्वभरका वातावरणविदहरु चिन्तित बनेका छन्। उनीहरुले समुद्र तथा खोला किनारमा प्लास्टिक नफ्याक्न अनुरोध गरेका छन्।

दक्षिण पूर्वी एसियाका समुद्र तथा खोला किनारमा बारम्बार प्लास्टिक भेटिन्छन्।
सन् २०१५ मा ‘ओसियन कन्जरभेन्सी एण्ड दि मिककिन्सी सेन्टर फर बिजनेस एण्ड इन्भारामेन्ट’ले चीन, इन्डोनेसिया, फिलिपिन्स, भियतनाम र थाइल्याण्डका समुद्रमा ६० प्रतिशत प्लास्टिक भेटिने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो।
वर्षेनी प्लास्टिक खाँदा समुद्रका हजारौ जीवहरुको ज्यान जाने गरेको छ। गत जुन महिनामा थाइल्याण्डमा एक पाइलट ह्वेलको समेत प्लास्टिक खाएकै कारण मृत्यु भएको थियो।
त्यस ह्वेलको पेटमा ८० वटा प्लास्टिकका झोला भेटिएका थिए। एजेन्सी

Post a Comment

0 Comments