आफ्नै श्रीमतीलाई बोक्सी भन्दै कुट्ने नालायक पति प्रहरी खोरमा



बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले ६ महिना जेल र रु पाँच हजार जरिवानाको फैसला सुनाएको छ।

अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए।

घरको अर्को एक सदस्य बिरामी भएपछि झारफुक गर्ने क्रममा पूजालाई बोक्सी भनेर झाँक्रीले नाम लिएपछि सन्तोषले श्रीमतीलाई बोक्सी भन्दै कुटपिट गरेका थिए। सो घटनाका बारेमा प्रहरीमा उजुरी परेपछि प्रहरीले सन्तोष र अन्य सदस्यलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

उक्त अभियोगमा गत जेठ ९ गते सन्तोष र परिवारका अन्य सदस्यविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। उनीहरुलाई बोक्सी आरोप कसुर सजाय ऐन २०७२ को १ परिच्छेदको ४ को दफा ११ ‘१’ को क, ख, घ र ङ र उपदफा ४ अनुसार सजाय सुनाइएको हो।

न्यायाधीश काजीबहादुर राईले उक्त मुद्दामाथि फैसला गरेका हुन्। उक्त घटनामा परिवारका सासु, ससुरा, देवर, देवरानीले भने सफाइ पाएका छन्। रासस

Post a Comment

0 Comments