लामो समय नेपाली सिने जगतमा द्वन्द्व निर्देशनमा एकछत्र राज गरेका राजेन्द्र खड्गी अहिले पनि यही क्षेत्रमा क्रियाशील छन्।
द्वन्द्व निर्देशनसँगै उनी पर्दामा पनि खलपात्रका भूमिकामा देखिएर आफूलाई कलाकारका रुपमा समेत स्थापित गराएका छन्।
केही महिनाअगाडि डकुमेन्ट्री छायांकनका लागि भन्दै अवैध रुपमा कोरिया लगेर ११ जनालाई छाडेको आरोपमा उनी डेढ महिना जेल पनि परे।
उनीमाथि लागेको आरोप पुष्टि नभएको भन्दै उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरेपछि उनी ५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए।
मानव तस्करीको आरोपमा जेल जीवन भोगेका खड्गीसँग नेपालखबरका प्रभात लामाले उनको जेल जीवन र त्यसपछिका अवस्थाबारे कुराकानी गरेका छन्। जुन कुराकानी प्रस्तुत छ खड्गीकै शब्दमाः
यसरी परेँ जेल
कराँतेका गुरु सोसाइ मास ओयामाको जीवनमा आधारित ‘डकुमेन्ट्री’ बनाउने सोँच ममा आइरहेको थियो। विश्वका १४० देशमा १ करोड २० लाख उहाँका सक्रिय चेलाहरु छन्। ती चेलाहरु उहाँले आफ्नो जीवनकालमै बनाउनुभएको थियो। यसरी कराँतेलाई विश्वमाझ चिनाउने गुरुको जीवनी म एउटा चेलाले किन नबनाउने भन्ने कुरा मनमष्तिस्कमा आइरह्यो। म उहाँप्रति अन्धभक्त भएका कारण यो सोंच आएको हो। म एक किसिमले पागलजस्तै हो। उहाँको जीवनी एउटा डकुमेन्ट्रीमा देखाउने सोच चानचुने कुरा होइन रहेछ भन्ने बल्ल थाहा हुँदैछ। तर मैले आँट गरे।
मास ओयामा गुरु कोरियामा जन्मिएर १५ वर्षको उमेरमा दोस्रो विश्व युद्धमा फाइटर प्लेन उडाउन भनेर जापान जानु भएको रहेछ। उहाँले पछि जापानबाट कराँतेमार्फत संसारभर ख्यातीसँगै चेलाहरु जन्माउनुभयो। विडम्बना कोरियामा जन्एिका कारण जापनले कुनै सम्मान दिएन भने कोरियाले पनि जापानमा जीवन बिताएका कारण उहाँलाई सम्मान गरेन्।
हामीले सन् २०१० मा जापानमा उहाँको जीवनशैलीवाला भिडियो खिच्यौँ। उहाँको बाल्यकाल खिच्नलाई हामीलाई कोरिया जानुपर्ने भयो। कोरिया जानका लागि मैले कोरियन एम्बेसीलाई अनुरोध गरेँ। एम्बेसीले मलाई तीन पटकसम्म भिषा दिएन्। चौँथो पटक मैले कोरियाका एक कलाकारलाई नेपाल बोलाएर एम्बेसीमा अनुरोध गरेँ। एम्बेसीले मलाई भिषा दिए पनि टिमका अरु साथीलाई भिषा दिएन।
त्यसपछि कोरियन आर्टिष्ट एसोसियनको रोहवरमा हामी सबैजना कोरिया गएका थियौँ। डकुमेन्ट्री खिच्नका लागि १२ र आउँदा जाँदा गरेर १५ दिनका लागि हामी त्यहाँ गएका थियौँ। कोरियन सरकारको नियम भनेको ९० दिनको लागि रहेछ। त्यतिको लागि मैले ५० हजार डलर तिरेको छु। काम सकेपछि मसँग गएका भाइहरु केही समय बस्छु भने। मैले भने गैरकानुनी रुपमा नबस्नु। उनीहरुले हुन्छ भने। उनीहरुलाई मैले तानेर ल्याउने कुरा पनि भएन।
अर्को कुरा उनीहरु मेरो ग्यारेन्टीमा कोरिया गएका होइनन्। म आफैलाई भिषा रिजेक्ट गरेको छ भने उनीहरुलाई मेरो ग्यारेन्टीमा लान सक्छु त? हो, उनीहरुले मलाई सहयोग गरेका थिए। आ–आफ्नै खर्चमा कोरिया गएका थिए। उनीहरुले थप बस्ने मन गरे। पछि कानुनी रुपमा बसेनन् त मेरो के दोष? तर, त्यही कुराले ममाथि यस्तो पनि आइलाग्यो। गुरुको जीवनीमा डकुमेन्ट्री बनाउँदा जेल जान लेखेको रैछ। यसैको लागि मैले झण्डै ५ करोड रुपैयाँ सकेको छु। मेरी श्रीमतीले अस्ती भर्खर हिसाब गरेर भन्दै थिइन्, बुढा ५ करोड रुपैयाँ सकाएछौँ भनेर। यसैका लागि हेटौँडाको पुख्र्यौली जग्गा बेचेको छु। जसको अहिलेको बजार मूल्य २० करोडको हाराहारीमा छ। राजेन्द्र खड्गीलाई मान्छे बेचेर खानु पर्दैन। मैले २०४८ सालमै काठमाडौँमा एक रोपनी जग्गा आउथ्यो होला, त्यत्रो पैसाले एक्सएल किनेर चलाएर हिँड्नेको सन्तान हुँ।
जेल जीवनले सिकाएको पाठ
म लगभग २५/३० दिन जेल बसे हुँला। सुरुमा त मलाई सोधपुछका लागि भनेर लगिएको थियो। भोलिपल्ट श्रीमती भेटन आउँदा उनको अनुहारमा तनाव देखिएको थियो। मैले जिस्केर भने, ‘बुढी मान्छे बेचेको आरोप लागेको छ। के हो यो मानव बेचविखन भनेको। हामीले फिल्ममा हिरोइन हरुलाई बम्बैमा लगेर बेचेको मात्रै थाहा थियो। १० वर्ष राख्छ भनेको छ। म त बुढो भएर मात्रै निस्किने भएँ।’ यति भनेको त उनले मलाई आँखा तरेर हेरिन्। उनको त्यो हेराइमा मप्रतिको विश्वास अनि माया मिसिएको थियो।
म गोलघरमा रहँदा मलाई धेरैजना भेट्न आउनुभयो। कति चाँहि डराएर होला आउनुभएन। सिने क्षेत्रका नायक शिव श्रेष्ठ, उज्वल घिमिरे, गोपाल कर्माचार्य, अशोक शर्मा आउनुभयो। तर कतिलाई आउँदा पनि भेट्न दिइएन् भनेर जेलका सुरक्षमर्कीले मलाई भन्थे। मैले भने तपाईहरुले आफ्नो काम गर्नु भएको हो। नियम कानुनको पालाना गर्नुभएको हो भनेर भने।
कराँते गुरु सोसाइ मास ओयामा
जेलमा रहँदा मैले धेरै जना मान्छे विनाकसुर सजाय भोग्दै गरेको देखेँ। वास्तविकता नबुझी धेरैलाई जेलमा राखिएको छ। यसबाट उनीहरुको जीवन नै अस्तव्यस्त बनेको छ। परिवार तितरवितर भएको छ। मानसिक रोगको सिकार भएका छन् भने अर्कोतिर राज्यलाई पनि घाटा भएको छ। तिनीहरुलाई खुवाउन रासनपानी दिनै पर्यो। सुरक्षाको लागि जनशक्ति खटाउनै पर्यो। कानुनी प्रक्रिया फितलो र सुस्त भएर पनि यस्तो भएको छ।
जब म जेलबाट घर आएँ मैले सबैभन्दा पहिले बाँधेर र थुनेर राखेका कुकुरलाई छाडिदिए। अहिले तपाईले देख्न सक्नुहुन्छ मेरो घरमा कुकुर, बिरालोलाई थुनेर राखिएको छैन। मैले महशुस गरे स्वतन्त्रता भनेको के हो? जेलमा बस्दा धेरै पटक आकाशमा उडेको चरालाई हेर्थेँ र मनमनै भन्थे, आहा कति राम्रो जीवन यिनीहरुको। चाहेको ठाउँमा भुरुरु उडेर गयो, खायो, डुल्यो आनन्द।
देशको नाम उच्च हुने काम गर्छु
जेल बसाइपछि मैले मुलुकी ऐन पढ्न थालेको छु। देशको कानुन सबैले बुझ्नु पर्ने रहेछ। मेरो सुत्ने ओछ्यानमा मुलुकी ऐनको किताब छुट्दैन। किताब पढ्नु पर्छ धेरै कुरा बुझिन्छ। कुरा नबुझ्दा धेरै समस्या सिर्जना हुन्छ भन्ने मैले महशुस गरेको छु। अब मेरो केही सपना बाँचेका छन्। मैले मेरो जीवनमा जेल पनि भोगे। यो मेरो भाग्यमै लेखेको रहेछ। त्यसैले त जेल जीवन भोग्नु पर्यो। तर, मलाई कुनै पछुतो छैन। ममा एउटा विश्वास थियो कि मैले गल्ती गरेको छैन। सत्य चाँडै बाहिर आउँछ भन्ने लागेको थियो। भयो पनि त्यस्तै। हुन त विश्वका ठूला –ठूला मान्छेहरु पनि जेलमा परेका छन्। नेल्सन मण्डेला पनि जेल पर्नु भएको हो।
अब म धेरै वर्ष बाँच्छु जस्तो लाग्दैन। धेरै वर्ष बाँचे भने १०–१५ वर्ष बाच्छु होला। मैले जीवनप्रति हरेस खाएको होइन। समय खराब छ। यत्रो धुलो धूवाँ, अस्तव्यस्त जीवन, कहाँ कति बेला दुर्घट्ना हुने हो, कस्तो रोग लाग्ने हो त्यसको ठेगान छैन। म हेर्दा पो भर्खरको देखिन्छु। म त हजुरबुवा नै भइसकेँ नि।
अब म मास ओयामा गुरुको चन्द्रगिरप्को दहचोकमा ७१ फिट अग्लो सालिक निर्माण गर्नेछु। जो विश्वका १४० वटा देशका १ करोड २० लाख व्यक्तिसँग प्रत्यक्ष जोडिन्छ। मास गुरुका विश्वमा रहेका १ करोड २० लाख चेलाहरु मध्ये १ प्रतिशत मात्रै वर्षमा आउन सकेमा १ लाख २० हजार पर्यटक नेपाल भित्र्याउन सकिन्छ।
हामीले नेपालको पर्यटन व्यवसायमा धेरै राम्रो गर्न सकिन्छ भने सँगै एउटा चेलाले आफ्नो गुरुप्रतिको योगदान पनि संसारभरी पुग्छ। साथै देशको नाम पनि संसरभर परिचित हुन्छ भन्ने मैलेृ विश्वस लिएको छ। फेरि यो प्रोजेक्टमा नेपाल सरकारले पैसा हाल्नु पर्दैन। १ करोड २० लाख चेलाहरुबाट १ डलरको दरले फण्ड जम्मा गर्ने योजना रहेको छ। जसबाट गर्दा १ करोड २० लाख डलर न्युनतम जम्मा हुन्छ, जसले यो प्रोजेक्ट गर्न सफल हुन्छ। मैले यसका लागि आवश्यक सबै कागजी प्रक्रिया अगाडि बढाइसकेको छु भने श्री मास ओयामा नेपाल फाउण्डेसन समेत दार्ता गरिसकेको छु।
विदेशी व्यक्तिको यत्रो ठूलो सालिक नेपालमा निर्माण गर्नुपर्यो भन्ने तर्क पनि आउँला। यो हामी नेपालीको संस्कार हो कि पाहुनालाई स्वागत गर्ने। हामी नेपाली मनका धनी र राम्रा मान्छे हौँ। मासको अदभूत क्षमतालाई कदर गर्दै हाम्रो देशमा पनि कराँते खेलप्रति गरेको सम्मान विश्वसामू पुगोस् भन्ने हो। अर्को कुरा भगवान गौतम बुद्धका अनुयायी संसारभरी छन्। उहाँहरुले कत्रो सम्मान दिनुभएको छ। हाम्रो देशको भगवान गौतम बुद्धलाई दिनु भएको सम्मान र बनेका अग्ला मुर्तिहरुलाई के भन्ने त? अरुले हाम्रो देशको राम्रो कुरालाई स्वीकार गरेका छन् भने खेल जगतमा कराँतेलाई विश्वव्यापी बनाउने यस्ता व्यक्तित्वको सालिक निर्माणसहित पर्यटकलाई अकार्षण गर्नलाई काम गरिन्छ भने सबैले साथ दिनुपर्छ भन्ने मलाई लाग्छ। म धेरैँ वर्ष बाँच्दिनँ। मैले पाउने भनेको अलिकति नाम होला। तर यो कामले देशको नाम उच्च हुनेछ भन्ने मलाई लागेको छ।

0 Comments