के मेस्सी कुशल खेलाडी, तर अपूर्ण कप्तान हुन्?

जब ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले शनिबार राति तेस्रो स्थानको एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ, तब वार्सालाई खेल कौशलको बारेमा कहिल्यै प्रश्न गर्न नसकिने, तर कप्तानको रुपमा भने बारम्बार प्रश्न गर्न सकिने व्यक्तिले नेतृत्व गर्नेछन्।
उनी हुन्, लियोनल मेस्सी।
आन्द्रे इनियस्टाले क्लब छाडेपछि यसै सिजनदेखि मेस्सीले बार्सिलोनाको कप्तानी सम्हालिरहेका छन्। तर सुरुवातदेखि नै मेस्सी यस भूमिकामा सही छैनन् भन्ने आरोप लाग्ने गरेको छ।
के वार्साले मेस्सीले सम्हालिरहेको कप्तानी अर्कैलाई दिनुपर्छ? मेस्सी उत्कृष्ट खेलाडी हुन्, तर के उनी कमजोर नेतृत्व क्षमता भएको कप्तान हुन् त?
म्याराडोनाको आरोप
मेस्सीको कप्तानीको विषयलाई लिएर उनकै देश अर्जेन्टिनाबाट धेरै आलोचना तथा असन्तुष्टिका आवाजहरु आउने गरेका छन्। उनी अर्जेन्टिनामै फुटबल सिकेर वार्साका स्टार बनेका हुन्।
भर्खरैमात्र अर्जेन्टिनी स्टार फुटबलर डिएगो म्याराडोनाले मेस्सीको नेतृत्वदायी क्षमतामा प्रश्न गरेका थिए। ‘फक्स स्पोर्ट्स’ सँगको टेलिभिजन अन्तवार्तामा सन् २०११ देखि अर्जेन्टिनाले देशको इतिहासकै सबैभन्दा खराब कप्तान पाएको बताएका थिए।
उनले भनेका थिए, ‘खेलभन्दा अगाडि २० पटक ट्वाइलेट जाने मान्छेलाई राष्ट्रिय टोलीको कप्तान बनाउनु अर्थहीन छ। मेस्सी आफ्ना खेलाडी साथीसँग बोल्नुभन्दा भिडियो गेम खेल्न रुचाउँछन्।’
म्याराडोनाको त्यस्तो अभिव्यक्ति आएपछि अर्का विश्वकप विजेता अर्जेन्टिनी डिफेन्डर मारियो केम्प्सले मेस्सीको बचाउ गरेका थिए।
‘जतिबेला म्याराडोना केही बोल्छन्, उनले अन्य मानिसलाई आदर गर्दैनन्। उनको समय सकिइसकेको छ’ उनले भनेका थिए, ‘म्याराडोना त्यस्तो टिप्पणी गर्न लायकका पनि छैनन्।’
म्याराडोनाको त्यस्ता अभिव्यक्तिलाई गम्भीर रुमा लिनु साँच्चै अप्ठ्यारो कुरा हो। उनै हुन्, जसले सन् २००८ देखि २०१० सम्म मेस्सीलाई विश्वकपका लागि प्रशिक्षण समेत दिएका थिए।
त्यसको त, मेस्सीको आलोचना गर्नेमा म्याराडोना एक्लैपनि छैनन्। पूर्व अर्जेन्टिनी कप्तान ड्यानिएल पासारेल्लाले समेत मेस्सीको कप्तानीमा प्रश्न गर्न थालेका छन्।
‘समुहको मुख्य खेलाडी भएर खेल्नु फरक कुरा हो। म मेस्सीलाई सम्मान गर्छु’ उनले भनेका छन्, ‘तर उनको व्यक्तित्व टोलीको कप्तान बनाएर खोसिएको छ।’
मेस्सी निश्चित रुपमा कप्तानको परम्परागत ढाँचामा अट्दैनन्, जसले टोलीलाई घुलमिल गराएर, प्रेरणा दिएर उत्साहित गर्नसक्छन्।
नयाँ मेस्सी
म्याराडोनाभन्दा पासारेल्लाको तर्क अलि गम्भीर देखिन्छ। तर उनीहरुको कुरामा विश्वास गर्ने फुटबल क्लब बार्सिलोनामा कोही भेटिँदैन। बार्सिलोनामा आवद्ध सबैजना मेस्सीलाई नै उपयुक्त र प्रतिस्थापन गर्न नसकिने कप्तान भएको ठान्छन्।
मेस्सीलाई क्लबले उपयुक्त पात्र ठान्नुको मुख्य कारण हो, उनी वर्षैपिच्छे परिवर्तन भइरहेका छन्। उनी झन् आत्मविश्वासी र बलियो बन्दै गइरहेका छन्।
एक अन्तर्मुखी किशोरबाट उनी नेतृत्वकर्ता बनिसकेका छन्। यतिबेला मानिसहरु ‘उनी पहिले पहिले किन रिजर्व रहन्थे, किन बोल्दैनथे’ भनेर अचम्मित हुन्छन्।
बार्सिलोना क्लवले संचालन गर्ने पत्रिकाको कार्यकारी सम्पादक अलवर्ट मासनाउ बार्सिलोना बसाइमा मेस्सीमा उल्लेखनीय परिवर्तन भएको विश्वास गर्छन्।
‘मेस्सीको पारदर्शी रुपमा देखिएको परिवर्तन भनेको उनको परिपक्वता हो, उनी अहिले जे पनि गर्न सक्छन्’ उनी भन्छन्, ‘मेस्सीमा आएको यस्तो परिवर्तनले यतिबेला उनलाई मेस्सी लजालु र अन्तरमुखी भन्नेहरु चकित हुन्छन्।’
मेस्सी वर्षैपिच्छे परिपक्व र आत्मविश्वासी हुँदै गइरहेको त्यो कुरा मैदानमा समेत देखिने दावी मासनाउको। भन्छन्, ‘मलाई लाग्दैन, उनको कप्तानी कमजोर छ। तर उनले आफ्नो परिपक्वता र आत्मविश्वासका साथ कप्तानी सम्हालिरहेका छन्।’
विदेशी भूमिमा मेस्सी लजालु स्वभावको हुनु त्यो प्राकृतिक विषय थियो। तर उनी आफ्नो उमेर, श्रीमती छोराछोरी, जीवनको लक्ष्य प्राप्तिल ेगर्दा परिपक्व भइसकेका छन्।
अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी तथा मेस्सीका खेल मित्र पाब्लो जाबेलेटा पनि मासनाउको कुरामा सहमति जनाएका छन्।
‘जब तिमी कप्तानको भूमिकामा हुन्छौ, तब सबै कुरालाई स्वागत गर्न तत्पर हुनुपर्छ’ जबेलेटाले भनेका छन्, ‘मेस्सीले आफ्नो भूमिका राम्रोसँग निभाइरहेका छन्।’
प्रतिवद्धता
मेस्सीमा देखिएको परिपक्वताले उनको आत्मविश्वासक राम्रोसँग झल्काउँछ। तर उनी अझैपनि संचार माध्यमसँग कम मात्रामै अन्तवार्ता दिन्छन्। यद्यपी उनी पहिलेभन्दा निकै खुलेका छन्।
मेस्सी जे बोल्छन्, अर्थपूर्ण बोल्छन्। मासनाउका भनाईमा, उनलाई सबैले सुन्ने र मान्ने गरेका छन्।
गत अगष्टमा मेस्सीले बोका जुनियर्ससँगको खेलअघि मन्तव्य दिएका थिए। मेस्सीका भनाई साधारण खालको हुने विश्वास गरिएको थियो।
तर उनले यस्तो प्रतिज्ञा गरे, जुन साँच्चिकै साहसिक थियो। ‘गत सिजन हामीले राम्रो गरेको थिएँ, दुई उपाधि जितेपनि हामी च्याम्पियन्स लिगमा पराजित हुन पुग्यौँ’ मेस्सीको भनाई थियो, ‘यस पटक हामी नपाएको उपाधि ल्याउन हर संभव प्रयासगर्ने वाचा गर्छौँ’
http://saharapati.com/wp-content/uploads/2018/11/
मेस्सीको यस मन्तव्यले खेल समर्थकहरुका गहिरो छाप बसाउन सफल भयो। उनको यो अभिव्यक्तिका कारण त्यहाँ उपस्थित सबै भावुक बनेका थिए।
केही हप्ता अघिमात्र मेस्सीले बेन्चमा राखिएका खेलाडी माल्कोमलाई मैदान प्रवेश गराउन आग्रह गरेका थिए।
सेप्टेम्बरदेखि बल्ल खेल्न पाएका माल्कोमले च्याम्पियन्स लिगको सो खेलमा मैदान प्रवेश गरेको दुई मिनेटमै गोल गरेका थिए।
यसले मेस्सीको कप्तानीको सफलताको संकेत गरेको छ। (बीबीसीबाट अनुवाद)

Post a Comment

0 Comments