सात देशको सामना गर्दै फेसबुक

प्रयोगकर्ताका डाटाको असुरक्षा, डाटाको राजनीतिक स्वार्थमा दुरुपयोगका साथै ह्याकिङ्गका घटनाहरुबाट पछिल्लो समय आलोचनाको सिकार बनिरहेको फेसबुकले पुनः एउटा अन्तर्राष्ट्रिय समितिको सामना गर्नुपर्ने भएको छ ।
७ देशका अधिकारी सम्मिलित २२ सदस्यीय कमिटीका सदस्यहरुले फेसबुक अधिकारीलाई अर्को हप्ता र्‍याखर्‍याख्ती पार्नेछन् ।

बेलायत, अर्जेन्टिना, ब्राजिल, क्यानडा, आयरल्याण्ड तथा सिंगापुरका सांसदहरु सम्मिलित २२ सदस्यीय समितिले अर्को हप्ता फेसबुकका एकजना उपाध्यक्षसँग सोधपुछ गर्ने भएको छ ।
लण्डनमा हुने उक्त कार्यक्रममा फेसबुकको युरोप, मध्यपूर्व तथा अफ्रिका नीति हेर्ने उपाध्यक्ष रिचार्ड एलानले प्रश्नको जवाफ दिनेछन् ।

सांसदहरुले अनलाइन फेक न्यूजको संकटका साथै फेसबुकको डाटा दुरुपयोग सम्बन्धी काण्डका विषयमा प्रश्न सोध्नेछन् ।

यसअघि उक्त कमिटीले फेसबुकका सिइओ मार्क जुकरबर्गसँग भिडियो कन्फ्रेन्सिङ्ग मार्फत सोधपुछ गर्ने प्रस्ताव गरेको भएपछि जुकरबर्गले अस्विकार गरी आफ्ना उपाध्यक्षलाई खटाएका छन् ।

न्युयोर्क टाइम्समा हालै प्रकाशित समाचार अनुसार फेसबुकले प्रतिद्वन्दीमाथि हिलो छ्याप्नका लागि अमेरिकाको रिपब्लिकन पार्टीसँग आबद्ध एक राजनीतिक परामर्शदायी संस्थालाई खटाएको थियो । साथै रुसले फेसबुकमार्फत फैलाएको गलत सूचनाका बारेमा पनि फेसबुकका उच्च अधिकारीहरुलाई जानकारी रहेको दाबी उक्त समाचारमा गरिएको विषय चर्चामा रहेका बेला उक्त २२ सदस्यीय समिति गठन गरिएको हो ।

स्मरणरहोस् फेसबुक निरन्तर विवादमा परिरहेको बेला यसका धेरै शेयर धनीहरुले सीईओ मार्क जुकरबर्गको राजीनामा समेत मागेका थिए । तर, जुकरबर्गले भने राजीनामा दिन अस्वीकार गर्दै आएका छन् ।
एजेन्सी

Post a Comment

0 Comments