१ वर्षमा श्रीमानद्वारा ५२ श्रीमतीको हत्या, श्रीमतीद्वारा ७ श्रीमान मारिए

कृष्णसिंह धामी
काठमाडौं । सबैभन्दा नजिकको सम्बन्ध भनेको आमा–बाबु, छोरा–छोरी र श्रीमान श्रीमतीबीच हुन्छ । यसलाई पवित्र सम्बन्ध पनि मानिन्छ । विशेषगरी श्रीमान–श्रीमती संगै बाच्ने संगै मर्ने कसम खाएका हुन्छन् । उनीहरु जीवनभर एकअर्कालाई साथ दिन्छन् । तर कुनै बेला त्यही जीवनभर साथ दिने श्रीमान– श्रीमती नै एक अर्काका काल बन्छन् ।

२०७५ सालमा मात्र ५२ जना श्रीमती आफ्नै श्रीमानबाट मारिएका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार एक वर्षको अवधीमा ७ जना श्रीमान आफ्नै श्रीमतीको शिकार बनेका छन् । त्यस्तै १८ वटा छोरा–छोरी आफ्नै आमाको हातबाट मारिनु परेको छ । यसमा धेरै जसो नवजात शिशु रहेका छन् । अवैध सन्तान जन्माउने अनि हत्या गर्ने क्रम पछिल्लो समय बढ्दो छ । १० जना छोराछोरीलाई आफ्नै बाबुले मारेका छन् । १ जना बुहारी सासु–ससुराबाट मारिएकी छन् । भने १ जना सासु पनि बुहारीको हातबाट मारिन पुगेकी छन् । ५ जना छोराहरुले आफ्नै आमाको हत्या गरेको तथ्यांकले देखाएको छ ।

नेपाल प्रहरी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट प्राप्त तथ्यांकलाई आधार मान्दा २०७५ सालमा मात्रै ९४ जना आफ्नै नजिकमा मान्छेबाट मारिएका छन् । यसमा श्रीमान, श्रीमती, छोरा, छोरीलाई मात्र समावेश गरिएको छ । यो भन्दा अन्य आफन्तहरुबाट पनि जघन्य अपराधका घटना बढ्दो क्रममा छ ।

के हो यसको कारण ?
यसको पछाडि विभिन्न कारणहरु छन् । जसमा सबैभन्दा महत्वपूर्ण कारण भनेको वैदेशिक रोजगारी हो । वैदशिक रोजगारीका कारण श्रीमान–श्रीमती टाढिने र अर्कोसँग नजिकिने हुँदा हत्या जस्तो जघन्य अपराधको श्रृंखला बढिरहेको तथ्यांकले देखाएको छ । अर्को कुरा मादक पदार्थ सेवनले पनि हत्या सम्मको घटना घटिरहेका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले नजिकका आफन्तबाट हुने जघन्य अपराधका पछाडि प्रमुख रुपमा वैदेशिक रोजगारी रहेको बताउँछन् । सामाजिक सञ्जालका कारण पनि यस्ता अपराधिक घटना बढिरहेको उनको दाबी छ ।

अब हेरौ केही रोचक घटनाः
१) कपिलवस्तुकी राधा घर्ती र रमेश विक ८ वर्षदेखि प्रेममा थिए । राधाका श्रीमान पनि सँगै थिए । उनका श्रीमान कपिलबस्तु वाणगंगा नगरपालिका–७ धैरेनीडाँडाका ३६ वर्षीय धनबहादुर घर्ती मगर कामको सिलसिलामा विशेषगरी घर बाहिर हुन्थ्ये । श्रीमान घरमा नभएको मौका उनले उनका प्रेमीले उठाईरहेका थिए । विवाहित महिलाको अरु पुरुषसँग सम्बन्ध स्थापित गर्नुमा राधाकी आमाले पनि साथ दिईरहेकी थिईन् ।

गत भदौ १० गते राधाका प्रेमी रुकुम घर भएका रमेश विदेशबाट राधाको घर आए । उनीसँगै तीन दिन घरमै बसे । त्यो बेला धनबहादुर कामको लागि बाग्लुङमा थिए । राधा, राधाकी आमा र रमेश तीनजना भएर कपिलवस्तुबाट अर्घाखाँची गए । त्यहि बेला दशैंमा आउँछु भनेर अचानक धनबहादुर घर आए । घरमा श्रीमतीलाई नदेखेपछि फोन गर्दा माइत गएको जानकारी दिईन् ।

आफुलाई जानकारी नै नदिई किन गएको भन्दै फोनबाटै केही बेर झगडा पर्‍यो । त्यसपछि उनी सिधै माईत नै हानिए । ससुरालीमा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरुबीच भनाभन सुरु भयो । उनकी आमा, उनी र प्रेमी मिलेर धनबहादुरको हत्या गर्ने योजना बनाए । त्यही अनुरुप उनलाई जंगल लगे । जंगलमा हत्या गरेर बोरामा बाँधेर फालिदिए ।

२) विष खुवाएर श्रीमानको हत्या
वीरगञ्जमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरिन् । त्यो पनि विष खुवाएर । मादकपदार्थ सेवन गरेर दिनहुँ कुटपिट गरेको भन्दै बाँकेको डुडुवागाउँपालिका–४ गडारियनपुरकी ४० वर्षीया पतंगी गडरियाले विष खुवाएर ४५ वर्षीय श्रीमान कुर्कुट गडरियाको हत्या गरिन् । उनले सेल्फास नामक विष सर्वतमा घोलेर खुवाएकी थिईन् । उनले आफ्ना प्रेमी भारतको बहराइचका ४० वर्षीय कुन्नु गडरियासँग मिलेर विष सेवन गराएर हत्या गरेकी थिईन् ।

३) पाँच वर्षीया छोरीको हत्याः
बाजुरामा गत भदौमा एक बाबुले आफ्नै पाँच वर्षीया छोरीको हत्या गरे । त्रिवेणी नगरपालिका–७ दगडीका ४५ वर्षीय धनबहादुर अयडीले ५ वर्षकी छोरी रेजिना अयडीको हत्या गरे । उनले छोरीको घरबाट २५ मिटर टाढा ढुंगाले च्यापेर हत्या गर्दै लुकाएको अवस्थामा शव फेला परेको थियो ।

४) तीन वर्ष विदेश बसेर घर फर्किदा श्रीमतीको हत्याः
ताप्लेजुङका ३८ वर्षीय सोनाम लामा ३ वर्ष मलेसिया बसेर गत साल नेपाल फर्किए । घर फर्किदा त उनलाई ठूलो समस्या आईलाग्यो । भर्खर ५ वर्षको छोरी, आमा बाबुको रेखदेख गर्ने जिम्मामा श्रीमती ज्ञानु लामालाई सुम्पिएका थिए । ३ वर्षको अवधीमा उनले झण्डै ५० लाख भन्दा माथीको कमाई गरे । त्यो सबै पैसा श्रीमतीको नाममा घर पठाईदिए ।

घर पुग्दा त श्रीमती अरु कुनै केटाको मायाजालमा परिसकेकी रहेछिन् । एकातिर श्रीमानले विदेशबाट पठाएको सबै पैसा प्रेमी रञ्जित बुढालाई दिएर सकिन् । अर्कोतिर छोरीलाई समेत बिगारिछन् । सोनाम घर आएपछि उनीहरुबीच रातदिन झगडा हुनथाल्यो । त्यही क्रममा गत असार १५ गते श्रीमतीलाई घरभित्र थुनेर खुकुरी प्रहार गरी हत्या गरे । उनले हत्या मात्र गरेनन् । रिसले चुर भएका सोनामले श्रीमतीको शवलाई टुक्रा टुक्रा गरेर काटिदिए ।

यि त केबल केही प्रतिनिधि घटनामा मात्रै हुन् । यस्तै खालको अपराधिक घटना बढ्दै गएको देखिन्छ । बढ्दो छाडापन, सामाजिक सञ्जालको सहज पहुच, वैदेशिक रोजगार, साथीभाईसँगको संगत जस्ता कारणले यस्ता घटना बढेको देखिन्छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांक अनुसार सन् २०१८ मा (२०७४ पुष देखि २०७५ पुषसम्म) ३ सय २२ जनाको हत्या भएको छ । जसमा १७३ महिना र १४९ पुरुष रहेका छन् । ६ जनाको राज्यपक्षबाटै हत्या भएको छ । जबकी २०१७ मा २५५ जनाको हत्या भएको थियो ।

यस्ता अपराधिक घटना बढ्नुको पछाडि के मानसिक समस्या छ ?
मनोविद् गोपाल ढकाल यस्ता घटना घट्नुको पछाडि मानसिक समस्या प्रमुख रहेको बताउँछन् । सामाजिक सञ्जालको जथाभावी प्रयोग, सामाजिक मुल्य मान्यतमा कमी, वैदेशिक रोजगारी जस्ता कारण सँगसँगै मानसिक समस्या पनि रहेको उनको भनाई छ । साईकोपाथ भएका विरामीले यस्ता अपराधि गर्न पछि नपर्ने उनको तर्क छ ।

‘साईकोपाथ भएका विरामीहरु कुनै पनि अपराध गर्न पाउँदा एकदमै खुशी हुने प्रकृताका हुन्छन् । उनीहरुको लागि कसैलाई मार्नु, दुःख दिनु एकदमै सामान्य लाग्छ । उसले पीडा बोध पनि गर्दैन् ।’ उनले भने ।

यस्ता घटनालाई कमी ल्याउन घर परिवारको नै विशेष भूमिका हुनुपर्ने उनको तर्क छ । आफ्नो घर परिवारमा के भईरहेको छ ? आफ्ना मान्छेहरु के कस्तो गल्ती गरिरहेका छन् ? जस्ता कुरामा विशेष ख्याल गर्नुपर्ने उनको भनाई छ ।

Extra RSS content goes here...



Post a Comment

0 Comments