संसदमा ११ वर्ष लुट मच्चाएका भट्टराईको राजदूत बन्न लबिङ्ग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मितव्ययिताको धज्जी उडाउँदै व्यवस्थापिका संसद्लाई ‘भन्सार’ बनाएर राज्यको ढुकुटीमा लुट मच्चाएका संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराई त्यतिले नपुगेर अब राजदूत हुने दौडमा लागेका छन् । विशिष्ट श्रेणीबाट अवकाश भएपछि पनि राज्यबाट दोहोरो सुविधा लिँदै आएका उनी दुई वर्ष कायममुकायसहित ११ वर्ष संसद्को महासचिव भइसकेका छन् । पहिले तत्कालीन सभामुख सुवास नेम्वाङलाई पट्याएर महासचिवमा पुनर्नियुक्ति खाएका उनी अहिले सभामुख कृष्णबहादुर महरालाई खुसी पारेर राजदूत हुने दौडमा रहेको बुझिएको छ ।

औंलामा गन्न सकिने थोरै मात्र नेपालीले उपभोग गर्ने अत्यन्तै विलासी जीवन यापन गर्दै आएका उनी नैतिक रूपमा स्वच्छ मान्छे मानिँदैनन् । उनले आफ्नो अहिलेसम्मको ११ वर्षको कार्यअवधिमा संसद्लाई भद्रगोल बनाएका छन् । भत्तामा नाममा राज्यको ढुकटीमा तर मार्नेदेखि लिएर कानुनले दिएकोभन्दा बढी सुविधा लिएर सरकारी ढुकुटी दुरूपयोग गरिरहेका छन् । कानुनमा महासचिव भट्टराईले एउटा गाडी, चालक र मुख्य सचिवसरह पारिश्रमिक पाउने व्यवस्था भए पनि उनले पाँचवटा गाडी र तीनजना चालक लिने गरेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ  । 
त्यति मात्र होइन, उनी मासिक तलब र पेन्सन दुवै लिने गरेका थिए । संसद्को अभिलेखमा भट्टराईको नाममा बा१झ ८२०६ कार र बा२झ १६८६ नम्बरको किया गरी दुईवटा गाडी मात्रै देखाइएको छ । स्रोतका अनुसार जगेडाको सूचीमा राखिएका बा१झ ८४९१, मर्मतको सूचीमा रहेको बा१झ ९१६० मित्सुबिसी र बा१झ ९७०० नम्बरको स्कोर्पियो पनि महासचिवले प्रयोग गर्ने गरेका छन् । छुट्टै कानुनबाट नियुक्त भएका महासचिव भट्टराईले ८० प्रतिशत प्रोत्साहन भत्ता लिने गरेका थिए । जबकि सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको २०७२ असोज ६ मा भएको ५९औं बैठकले समेत महासचिव प्रोत्साहन भत्ता पाउने व्यवस्था गरेको छैन ।

यति मात्र होइन, उनले यो सबै गर्नकै लागि त्यहाँको सबै कुरा बुझेका व्यक्ति राम डंगोललाई उपसचिवसरहको सेवासुविधासहित स्वकीय सचिवमा नियुक्त गरेका छन् । नासुबाट सेवा अवधिका कारण स्वतः अधिकृत बढुवा भएपछि अवकाश पाएका डंगोललाई गैरकानुनी काम गर्न सजिलोका लागि नै स्वकीय सचिवमा नियुक्त गरिएको बुझिएको छ । संसदबाट डकारुन्जेल खाइसकेपछि पनि नपुगेर उनी अहिले राजदूतको दौडमा लागेका छन् । त्यसका लागि उनले सभामुख महराको फेर समाएको बुझिएको छ । महरालाई कसरी हुन्छ खुसी पार्ने ध्याउन्नमा उनी लागेको स्रोतको दाबी छ ।

सरकारले खाली रहेका केही देशमा केही दिनभित्रै राजदूत नियुक्तिको तयारी गरिरहेको छ । पाँच देशमा राजदूत खाली भएको चार महिना बितिसकेको छ । पुस ६ गतेको मन्त्रिपरिषद् बैठकले स्पेनका भरत रायमाझी, बंगलादेशमा चोपलाल भुसाल, दक्षिण कोरियाका अर्जुनबहादुर सिंह र दक्षिण अफ्रिकाका अमृत राईलाई र केही दिनअघि कतारका रमेश कोइरालालाई फिर्ता बोलाएको थियो । मानव तस्करीको आरोप लागेकी लक्की शेर्पालाई फिर्ता बोलाएपछि अस्टे«लियामा पनि राजदूत खाली छ ।बुधबार साप्ताहिकबाट

Post a Comment

0 Comments