विप्लवका कुन–कुन नेता छन् जेल र हिरासतमा ?

biplab netra bikram chand

  • 34
    Shares
काठमाडौं। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधिमाथि प्रबिन्ध लगाउने गत फागुन २८ मा निर्णय गरेयता दर्जनौं नेताहरु गिरफ्तारीमा परेका छन्। पक्राउ पर्ने अधिकांशमाथि ज्यान मार्ने उद्योग, विष्फोट, कर्तव्य जयन, हातहतियार तथा खरखजाना, संगठित अपराध, आगजनीलगायत कसुरसम्बन्धी अभियोग लगाइएको छ।
केही नेताहरु जेलमा छन्। बाँकीलाई म्याद थप गर्दै अनुसन्धानका क्रममा हिरासतमा राखिएको छ। प्रतिबन्ध खारेजीको पक्षमा नागरिक समाजका अगुवा, कलाकार, सैनिकका पूर्वअधिकारी एवं कमाण्डर, राजनीतिक विश्लेषक तथा विभिन्न राजनीतिक दलहरु उभिएका छन्। तर, सरकार आफ्नो निर्णयबाट पछाडि हट्ने मनस्थितिमा देखिँदैन।
प्रतिबन्धको घोषणा गरेयता एक स्थायी समिति सदस्य, दुई पोलिटब्यूरो सदस्य, ५ जना केन्द्रीय सदस्यलाई गिरफ्तार गरी जेल र हिरसासतमा राखिएको छ। ती नेताहरु देशका विभिन्न घटनामा संलग्न भएको अभियोगमा गिरफ्तार गरिएको हो। पक्राउ परेकामध्ये अधिकांशमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिबन्धपछि पहिलो गिरफ्तारीमा पोलिटब्यूरो सदस्य एवं जनवर्गीय संगठनका ईञ्चार्ज हाल निलकण्ठ गाउँपालिका–३ धादिङका वर्ष ५९ का मोहनबहादुर कार्की ‘जीवन्त’ परे। उनलाई चैत १ गते ललितपुरको च्यासलबाट कोठाबाटै गिरफ्तार गरियो। महानगरीय प्रहरी काठमाडौं परिसर टेकुको हिरासतमा राखी उनीमाथि राज्य विप्लव गर्न खोजेको अभियोगमा राजद्रोहको मुद्दा लगाइएको छ।
नेता जीवन्त यसअघि गत साउन १० गते थानकोट नागढुंगाबाट अर्का पोलिटब्यूरो सदस्य कृष्ण धमला ‘गम्भीर’सहित यात्रुवाहक माइक्रोबसबाट गिरफ्तार परी काठमाडौं, काभ्रे, नुवाकोट, संखुवासभा, दाङलगायत जिल्ला कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आगजनी, संगठित अपराध मुद्दामा चलाइएको छ। संगठित अपराधको अभियोगमा अनुसन्धानका लागि ६० दिनसम्म हिरासतमा राख्न सकिने कानूनी व्यवस्था छ।
त्यस्तै चैत्र ८ गते शुक्रबार राति काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारिको खानीखोलाबाट ने.क.पा.का स्थायी समिति सदस्य हाल त्रिवेणी गाउँपालिका–६ रुकुमका वर्ष ५२ का हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई स्कार्पियो गाडीसहित प्रहरीले बिहान ४ बजे गिरफ्तार गर्‍यो। उनका साथ केन्द्रीय सदस्य विजय श्रेष्ठ ‘प्रज्वलन’सहित ९ जना नेता कार्यकर्ता गिरफ्तार भए।
उक्त गिरफ्तारीमा रौतहट जिल्ला ईन्चार्ज शंकर अधिकारी, जिल्ला नेताहरु रामकृष्ण खतिवडा, ललित तामाङ, धर्मराज राजवाहक, देव घिमिरे, लोकेन्द्र खडका र सञ्जीव कार्की गिरफ्तार भए। उनीहरु सबैलाई नीजि क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको ललितपुरको अख्खुस्थित केन्द्रीय कार्यालय परिसरमा गत फागुन १० गतेका दिन बम विष्फोट भएको घटनासँग जोडेर संगठित अपराध, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान चलाउँदै मुद्दा चलाइएको छ।
नौ जनामध्ये सुदर्शनसहित ४ र त्यसअघि गिरफ्तार भएका २ गरी ६ जनालाई पुर्पक्षका लागि भन्दै ललितपुर जिल्ला अदालतले नख्खु जेल चलान गरिसकेको छ। ६ जनामा काठमाडौंबाट चैत्र ६ गते गिरफ्तार भएका डिकेन्द्र राई र काभ्रेकै डाँडापारिबाट गिरफ्तार भएका झापाका शिव धिमाल पनि छन्। चैत्र ६ गते काठमाडौंबाट गिरफ्तार भएका दाङ नुमबहादुर विक र चैत्र ७ गते काभ्रेको डाँडापारिबाट गिरफ्तार भएका विशाल तामाङलाई भने हिरासतमै राखिएको छ।
सुदर्शन गिरफ्तार परेकामध्ये अहिलेसम्मकै सबैभन्दा उच्च तहका नेता हुन्। उनी पार्टीको चार वटा भूगोल क्षेत्रीय कमाण्डमध्ये मध्यकेन्द्रीय कमाण्डका ईन्चार्ज समेत हुन्। यस कमाण्डअन्तर्गत पूर्वी ताम्सालिङ, पश्चिम ताम्सालिङ र नारायणी पर्दछ। सुदर्शन नेकपाका तेस्रो बरियताका नेता हुन्।
केन्द्रीय सदस्य प्रज्वलन चाहिँ पूर्वी ताम्सालिङ ईन्चार्ज हुन्। रुपन्देहीको सैनामैना निवासी प्रज्वलन नेकपाकी पोलिटब्यूरो सदस्य एवं जनयुद्धकालका जेलब्रेकर उमा भुजेलकी श्रीमान् हुन्। हाल नेकपाले पूर्वीताम्सालिङ ब्यूरोमा काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, र सिन्धुपाल्चोकलाई सेमेटेको छ। नेकपाले तोकेको भूगोल क्षेत्र संरचना तत्कालीन दश वर्षे जनयुद्धताकाका जस्तै मानिन्छ।
त्यस्तै वैशाख ६ गते रोल्पाका चुडामणि वली ‘आदर्श’ र सल्यानका चन्द्रबहादुर खडका ‘असल’लाई प्रहरीले दाङको तुलसीपर नगरपालिका–३ राम्रीबाट गिरफ्तार गरेको थियो। आदर्श र असल दुवै जना नेकपाका केन्द्रीय सदस्य हुन्। आदर्श पार्टीमा स्कूलिङ विभागका सदस्य समेत रहेका छन्। उनी जिल्लामा राम्रै प्रभाव छाडेका नेतामा गनिन्छन्।
सल्यानको दार्मा गाउँपालिका लडा–५ का बासिन्दा युवा नेता असल जनयुद्धका सहिद परिवारका सदस्य समेत हुन्। नेता आदर्श भने रोल्पा गंगादेव गाउँपालिका–३ जिनवाङका बासिन्दा हुन्। उनी जनयुद्धताका बेला रोल्पा जिल्ला सेक्रेटरी थिए। आदर्श प्रखर वक्ता पनि हुन्। उनी त्यसबेला जनयुद्धको नेतृत्व गरिरहेको नेकपा (माओवादी) को रोल्पा सेक्रेटरी थिए। हाल नेताद्वय आदर्श र असललाई दाङको तुलसीपुर प्रहरी हिरासतमा राखिएको छ।
त्यस्तै पार्टीका अर्का पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’लाई वैशाख २५ गते बिहान नेपालगञ्जको जानकी गाउँपालिका वडा नम्बर ६ गहनापुरबाट प्रहरीले उनीसँगै युवा नेता सत्यबहादुर शाहीलाई पनि गिरफ्तार गरेको छ। दुवै जनालाई कोहलपुर इलाका प्रहरी कार्यालयमा राखिएको छ। नेता बम कालिकोट जिल्ला रास्कोटका स्थायी बासिन्दा हुन्। नेता बममाथि संगठित अपराध र राजद्रोहको अभियोग लगाइएको छ।
सल्यान जिल्ला घर भएकी केन्द्रीय सदस्य बन्धुकुमारी चन्द पनि प्रहरी हिरासतमै छिन्। उनीमाथि आगजनी र विष्फोटको कसुरमा अनुसन्धानका लागि गिरफ्तार गरिएको हो। हाल नेतृ चन्द संगठित अपराधको कसुरमा सल्यानको हिरासतमा छिन्। अहिलेसम्म देशैभरबाट ३ सयभन्दा बढी नेता कार्यकर्ता गिरफ्तार गरिएको छ।

Post a Comment

0 Comments