तपाईं आफ्नो बच्चालाई परनिर्भर त बनाउँदै हुनुहुन्न ?

तपाईंको बच्चाले राम्ररी खान सक्दैन । खानेकुरा दियो भने यताउता छरिदिन्छ । थालमा भएकोमध्ये आधा पनि मुखमा पुर्‍याउँदैन । तपाईं के गर्नुहुन्छ ?
आफै ख्वाउन थाल्नुहुन्छ । बच्चाले खानेकुरा छर्ने, पोखाउने भएकाले उनीहरुलाई आफै ख्वाइदिन उचित लाग्छ । त्यही कारण हरेक छाक तपाईंले नै ख्वाइदिनुहुन्छ । तर, कहिलेसम्म ख्वाउनुहुन्छ ?
तपाईं सोच्नुहुन्छ, उमेर बढ्दै गएपछि आफै खान सिक्छ । तर, उसले सिक्ने अवसर नै पाएको छैन । कसरी सिक्छ ? उसले खाने अभ्यास गर्न पाएकै छैन, कसरी अभ्यस्त हुन्छ ?
वास्तवमा हामी आफ्ना छोराछोरीलाई सिक्न छाड्दैनौ । आफै गरिदिन्छौ । उनीहरुको टाइ हामी आफै लगाइदिन्छौ । उनीहरुको जुत्तामा पोलिश हामी आफै लगाइदिन्छौ । उनीहरुको किताब-कपी हामी आफै मिलाइदिन्छौ । उनीहरुले खेलेर छाडेको खेल्नेकुरा हामी आफै मिलाइदिन्छौ ।
हामीलाई लाग्छ, छोराछोरीले जान्दैनन् । राम्ररी मिलाउँदैनन् । राम्ररी गर्दैनन् । त्यही कारण हामी आफै गरिदिन्छौ । उनीहरुले मिलाएर खेल्नेकुरा राख्न सक्दैनन् । लुगाहरु मिलाएर लगाउन जान्दैनन् । उनीहरुको ढंग नपुग्ने भएकाले हामी त्यो काम आफै गरिदिन्छौ ।
तर, हामीले यसरी उनीहरुको काम गरिदिदा वा सबै कुरामा सहयोग गर्दा उनीहरु परनिर्भर हुन्छन् ।
बालबच्चाको काम उनीहरुलाई नै गर्न दिनु राम्रो हो । यद्यपी तपाईंले आदेश दिए जसरी काम अह्राउने भन्दा पनि प्रेरित गर्ने हो । जस्तो बच्चा विद्यालयबाट र्फकन्छन्, जुत्ता-मोजा फुकालेर र्‍यागमा राख्न सिकाउनुहोस् । झोला सही ठाउँमा झुन्ड्याउन वा राख्न सिकाउनुहोस् । नास्ता उनीहरुलाई आफै खान दिनुहोस् । खेलौना उनीहरुलाई नै मिलाउन दिनुहोस् । भलै यस्ता कतिपय काममा उनीहरुको ढंग नपुग्न सक्छ । उनीहरुले उचित तरिकाले मिलाएर राख्न सक्दैनन् । उनीहरुले राखेको, मिलाएको तपाईंलाई चित्त नबुझ्न सक्छ । यस्तो अवस्थामा तपाईंले सहयोग बनिदिनुपर्छ ।
जस्तो बच्चाले पुस्तकहरु मिलाएर झोलामा राख्न जानेनन् वा सकेनन् । तपाईं अग्रसर भएर आफै पुस्तक राखिदिने होइन । बरु कसरी राख्ने भन्नेकुरा सिकाउनुहोस् । कसरी पुस्तक राख्दा च्यातिन्छ वा खुम्चिन्छ भन्ने कुरा बुझाउनुहोस् ।
बच्चाले विद्यालय र पाठ्यपुस्तकबाट मात्र ज्ञान आर्जन गर्दैनन् । उनीहरुले स-सना कामबाट पनि उपयोगी शिक्षा हासिल गरिरहेका हुन्छन् । त्यसैले घरमा उनीहरुलाई सहज ढंगको र सकेसम्म उनीहरुकै काम लगाउनुहोस् ।
सुत्नुअघि ओछ्यान मिलाउने, उठिसकेपछि ओछ्यान मिलाउने, पानी आफै सारेर पिउने, लुगाफाटो आफै तयार गर्ने, नास्ता आफै मिलाउने काममा अभ्यस्त बनाउनुहोस् ।
तर, यस्तो क्रममा तपाईंले गर्नै नहुने अर्को गल्ती भनेको तुलना गर्नु हो । फलानोको छोरा वा छोरीले यसरी मिलाउँछ, यसरी काम गर्छ भनेर तपाईंले अर्कासँग दाँज्नुभयो भने त्यसको गलत असर उनीहरुमा पर्छ । आफ्नै घरका दाजुभाई, दिदीवहिनीसँग पनि एकअर्कालाई दाँजेर काम लगाउनुभयो भने त्यसले उनीहरुलाई प्रेरित होइन, हतोत्साही गराउँछ । उनीहरु आफुलाई कमजोर र निरिह ठान्न सक्छन् । यसैले कुनैपनि काम गराउँदा उनकै ढंगले, उनकै शैलीले गर्न दिनुहोस् । तर, ति काम कसरी गर्दा सही र सहज हुन्छ भन्ने चाहि सिकाउनुहोस् ।
कतिपय आमाबुवा यस्ता हुन्छन् कि आफ्नो बच्चालाई काम गर्नै नदिने । बच्चाले काम गर्दा उनीहरुलाई दुःख हुन्छ भन्ने सोचाई राख्छन् । जबकी बच्चाले कामबाट नै जीवनोपयोगी शिक्षा लिने हो । ‘मेरो बच्चाले जान्दैन, गर्न सक्दैन’ भनेर जब तपाईं सबै काम आफै गरिदिनुहुन्छ, तपाईंको बच्चा अरुको साहारा बिना बाच्नै नसक्ने हुन्छन् । भोलिका दिनमा तपाईंले बच्चालाई सबैकुरा आफै गरिदिन सक्नुहुन्न । त्यस अवस्थामा उनको काम कसले गरिदिने ?
सकेसम्म उनीहरुको काममा तपाईंले हात नहाल्नुहोस् । बरु भान्साको काम, बगैचाको काम, सरसफाईको काममा उनीहरुलाई प्रेरित र अभ्यस्त बनाउनुहोस् । यसले गर्दा बच्चामा कामप्रतिको रुची पनि बढ्दै जान्छ । जब बच्चा सानै उमेरदेखी काम गर्न पोख्त र अभ्यस्त हुँदै जान्छन्, उनीहरुको भविष्य सहज हुन्छ । सरल हुन्छ ।

Post a Comment

0 Comments