काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि राजनीतिक सहमति जुटाउन दलका नेताहरुसँग परामर्श गरेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संविधान र संसद्को फ्रेमबाट शासकीय जिम्मेवारी दिनसक्ने प्रबन्धबारे समेत छलफल भएको छ ।
कानुनविद्हरुसँगको छलफलपछि राष्ट्रपति पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गरेका छन् । माओवादी उपमहासचिव वर्षमान पुन पनि राष्ट्रपति कार्यालय, शीतलनिवास पुगेका थिए ।
माओवादी नेताहरु शीतलनिवास पुगेपछि राष्ट्रपति कार्यालयबाट कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको थियो । तर, मध्यराति विभिन्न ठाउँमा भएकाले उनीहरुले टेलिफोनमार्फत नै संवाद गरेका थिए ।
‘शीतलनिवासमा वर्षमान पुनजीको मोबाइलमार्फत प्रचण्डजीले कांग्रेस नेताहरुलाई फोन गर्नुभएको थियो,’ कार्यालय स्रोतले भन्यो, ‘त्यसक्रममा नेताहरुले नयाँ सरकार गठनबारे कांग्रेसको अडान प्रस्तुत गर्नुभयो ।’
स्रोतका अनुसार, कांग्रेस नेताहरुले अहिले उत्पन्न परिस्थितिमा नयाँ सरकार गठनका लागि सहयोग गर्न पार्टी तयार रहेको सन्देश दिएका छन् ।
‘अहिले जेनजीले प्रस्ताव गरेका पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नै प्रधानमन्त्री बनाएर जाँदा समेत हामीलाई आपत्ति छैन,’ कांग्रेस नेताहरुको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘तर, त्यसलाई अहिलेको संविधानको फ्रेमभित्रै रहने गरी अघि बढाउनुपर्छ भन्ने उहाँहरूको कुरा छ ।’
स्रोतका अनुसार, प्रचण्डले समेत कार्कीलाई अघि बढाउने सन्दर्भमा आफूहरु सकरात्मक रहेको बताएका थिए । ‘तर, कांग्रेसले आफ्नो धारणा स्पष्ट गरे सहज हुने उहाँको कुरा थियो,’ स्रोतले भन्यो, ‘त्यसपछि कांग्रेस नेताहरुले संविधानको फ्रेमभित्र रहने गरी विकल्प समेत प्रस्तुत गरेका थिए ।’
त्यो भनेको संसद्बाट संविधानमा बाधा अड्काउ फुकाउने सम्बन्धी संक्रमणकालीन व्यवस्था गर्ने भन्ने प्रस्ताव भएको स्रोतको भनाइ छ ।
‘संसद्ले नै नयाँ प्रधानमन्त्रीलाई वैधानिकता दिने गरी अघि बढ्नुपर्छ भन्ने बटमलाइन रह्यो, त्यसो हुँदा संसद्लाई विघटन गर्ने भन्ने भएन,’ छलफलमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘संसद्को सदस्य नरहेको व्यक्तिलाई निश्चित उद्देश्य र निश्चित समयावधि प्रधानमन्त्री बनाउन सकिन्छ भनेर संक्रमणकालीन व्यवस्था गर्ने विषयमा दलहरु सहमत भएका छन् ।’
दुई दिनसम्म भ्रष्टाचारविरोधी प्रदर्शन गरेका जेनजी प्रतिनिधिसँग भने नेपाली सेनाले जंगीअड्डामा छलफल गरेको थियो । त्यसपछि उनीहरुले बुधबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अघि सारेका थिए ।
कार्कीले समेत जिम्मेवारी लिन आफू सकरात्मक रहेको प्रतिक्रिया दिइसकेकी छन् । यसअघि बिहीबार राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत उनको पटकपटक वार्ता भइसकेको छ ।

0 Comments