प्रधानसेनापतिलाई दलहरूको सन्देश : संसद्‌बाटै निकास खोजौं

यो नेपाली भाषाको अनलाइन हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमालेसहितका राजनीतिक दलहरूले प्रतिनिधिसभाबाटै समाधान खोज्न नेपाली सेनालाई सुझाव दिएका छन् । केही युवा नेताहरूले प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष अहिलेको गणतान्त्रिक व्यवस्थालाई कायम राख्दै संसद्‌बाटै निकास निकाल्नुपर्ने सन्देश दिएका हुन् । ‘जंगीअड्डाबाट जेजनी प्रतिनिधिसँग मात्र अहिले संवाद भइरहेको छ, तर त्योभन्दा ठूलो र संगठित शक्ति अझै बाहिरै छौं,’ एक नेताले अनलाइनखबरसँग भने, ‘यस्तोमा परम्परागत शक्तिलाई बाइपास गरेर हुने कुनै पनि निर्णयले स्थायित्व दिँदैन ।’ त्यही सन्देश नेपाली सेनाको जंगीअड्डालाई दिइएको स्रोतले बताएको छ । स्रोतका अनुसार, ती नेताहरूले अहिलेको व्यवस्थालाई जोगाएर जेनजीको माग पूरा गर्ने सन्दर्भमा आफूहरू जे गर्न पनि तयार रहेको बताएका छन् । ‘संसद्‌मै रहनु भएका नयाँ पुस्ता वा उहाँहरूले छान्नु भएको जो कोहीको नेतृत्वमा सरकार बनाएर जेनजीतर्फबाट समेत प्रतिनिधित्व हुने गरी अघि बढ्न सकिन्छ,’ ती नेताले भने, ‘त्यही अनुसार सुझाव दिएका छौं ।’ स्रोतका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समेत एउटा पक्षको मत समेत संसद्‌बाटै जो कोहीलाई अघि सारेर चुनावी सरकार बनाउनुपर्छ भन्ने छ । ‘जे गरे पनि यही संविधान अन्तर्गत अघि बढ्नुपर्छ भन्ने हो,’ एक सांसद्ले भने, ‘यो संविधान जोखिममा पर्दा भोलि झन् अफ्ठ्यारो परिस्थिति बन्नसक्छ ।’ रास्वपा सांसद् सोबिता गौतमले संसद् विघटन गर्नु जनताको सर्वोच्चता संकट पर्नु भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । यद्यपि, सांसद् तोसिमा कार्कीले चाहिँ संसद् विघटन हुनुपर्ने अभिव्यक्ति दिएकी थिइन् । स्रोतका अनुसार, रास्वपाका केही नेताहरूसँग नेपाली सेनाका प्रधानसेनापति सिग्देलले समेत कुराकानी गर्न खोजेका थिए । त्यो सन्देश रास्वपा सभापति रवि लामिछानेसम्म पुर्‍याइएको थियो । तर, पछि नेपाली सेनालाई भेट्ने कि राष्ट्रपतिलाई भेट्ने भन्ने पार्टीमा फरकफरक मत भएपछि भेट रोकिएको स्रोतको दाबी छ । सैनिक स्रोतले समेत पुराना दलहरूसँग समेत अनौपचारिक कुराकानी भइरहेको पुष्टि गरेको छ । ‘हामी बाहिर आएका सबै प्रतिक्रियालाई नोटिसमा लिएका छौं, तर नेपाली सेनाले जेनजी प्रतिनिधि धेरै भएकाले एकमत गराउन सहजीकरण मात्र गरेको हो,’ एक सैनिक अधिकारीले भने, ‘निर्णायक वार्ता राष्ट्रपति रामचन्द्र पौडेलज्यूकै उपस्थितिमा हुने हो ।’ नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले बिहीबार दिउँसो विज्ञप्ति जारी गरेर संवैधानिक बाटोबाटै देशलाई निकास दिने प्रयास गर्ने बताएका छन् ।

Post a Comment

0 Comments